पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयमा राख्नु कतिको न्यायसङ्गत हो – नेता शर्मा
११ असोज काठमाडौँ । पूर्वगृहमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुरक्षाको कारण देखाएर प्रहरी कार्यालयमा राख्नु न्यायसङ्गत नभएको बताएका छन्। सुरक्षा संवेदनशील बनेको अवस्थामा पूर्वपदाधिकारीहरूलाई घरमै सुरक्षाको प्रबन्ध मिलाउनु राज्यको मुख्य दायित्व हुने नेता शर्माको तर्क छ ।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, ‘सुरक्षा थ्रेट भएपछि पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व होला। सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लिएर राख्नु कति न्यायसङ्गत होला ?’ पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले मध्यराति उनकै निवास महाराजगन्जबाट पक्राउ गरेको थियो ।
