असोज २० देखि ‘हामी आउँदै छौँ’ अभियान


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १७ २०८३
684
SHARES

१७ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाललाई प्रमुख तोकेको छ ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल तथा विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्दलाई प्रमुख मनोनयन गरिएको छ ।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनञ्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी तथा वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसीलाई मनोनयन गरिएको छ । सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई मनोनयन गरिएको छ ।

बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्को (रोहन)लाई मनोनयन गरेको छ ।

७७ जिल्लाका ७५३ पालिकामा ‘हामी आउँदै छौँ’

रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन् । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ ।

मधेस प्रदेशको संगठनसम्बन्धी प्रतिवेदन अध्ययन गरिने

बैठकमा रास्वपा मधेस प्रदेश संगठनका समस्या तथा समाधानका विषयमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएको जानकारी गराइएको छ ।

बैठकले उक्त प्रतिवेदन अध्ययन गरेपछि आवश्यक कदम चाल्ने जनाएको छ ।

केन्द्रीय कार्यालयका लागि जग्गा वा घर खोज्न आग्रह

रास्वपाले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै काठमाडौं उपत्यकामा पार्टीलाई पायक पर्ने स्थानमा जमिन वा घर खरिदका लागि खोजी गर्न पार्टी सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।

बैठकले विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत दिएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

स्थानीय निर्वाचनका उम्मेदवार चयन समित गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनका उम्मेदवार चयनका लागि समिति गठन गरेको छ । विपिनकुमार आचार्यको संयोजकत्वककाे उम्मेदवार चयन समितिमा सदस्य मनाेनीत गरेकाे प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य मनोनयन गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट मिलन लिम्बु, मधेशबाट रहबर अन्सारी, बागमतीबाट तोसिमा कार्की, गण्डकीबाट कविन्द्र बुर्लाकोटी, लुम्बिनीबाट सुशान्त बैदिक, कर्णालीबाट तासी लाजुङ र सुदूरपश्चिमबाट जनकसिंह धामीलाई मनोनयन गरिएको छ । बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोटसम्बन्धी जिम्मेवारी उक्त समितिलाई दिने निर्णय गरेको हो ।