आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुने
३० असोज काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले नोभेम्बर १७ देखि २१ सम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।
उक्त सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरुका साथै एसोसिएट सदस्य राष्ट्रहरुका आधिकारिक प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय समुदायका उच्चपदस्थ डेलिगेटहरुको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
पारसले भनेका छन् ‘क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य तथा खेलको दिगो प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण मानिएको यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रुपमा स्थापित गराउनुका साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने क्यानले विश्वास लिएको छ । साथै, यस सफल आयोजनाबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपिनेछ ।’
साथै, सम्मेलनका अवसरमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरुले नेपालमा १० दिनपछि सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर र फाइनल खेलसमेत अवलोकन गर्नेछन् ।