भाकल पूरा गर्न भारतका मन्दिरमा जाँदै छु – रवि लामिछाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८३
361
SHARES

६ कार्तिक धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको बताएका छन् । तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले धार्मिक यात्रामा निस्किएको लामिछानेले बताए । उनले आफ्नो भारत भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् । लामिछानेको निजी सचिवालयले पनि भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई अतिरञ्जित नगर्न र राजनीतिक रंग नदिन आग्रह गरेको छ ।

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । तीनदिने भ्रमण सकेर उनी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।