सरकार आर्थिक समृद्विका लागि सहकार्य गर्न तयार छ -मन्त्री भट्ट
२५ पुष काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको आर्थिक समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा बिधाबर देखि शुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले आर्थिक समृद्धिका लागि नेपालका राजनीतिक दल, सरकार, निजी क्षेत्र सबैलाई सहकार्यका लागि आग्रह गरे ।
“देशमा राजनीतिक क्रान्ति सकिएर अब आर्थिक क्रान्ति गर्ने समय आएको छ”, मन्त्रीले भने, “सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, सकारात्मक सोचसहित विकासमा सबै लागौँ, सरकार सबैलाई समेट्न तयार छ ।”
मन्त्री भट्टले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित वस्तु, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकता रहेको उल्लेख गरे । सरकार औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अघि बढेको उल्लेख गर्दै मन्त्री भट्टले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजान ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।