पार्टीले राष्ट्रियसभामा आवश्यकता देखेर उम्मेदवार बनाएको हो- प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २८ २०७६
5K
SHARES

२८ पुष काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट उम्मेदवार बनेका प्रवक्ता नारायणकाजी श्रेष्ठले चुनावी भेटघाट शुरु गरेका छन् । गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनेका पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता श्रेष्ठ र महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले आइतबार पोखरामा मतदातासँग भेटघाट गरे । उम्मेदवारद्वयले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गरेका थिए ।

त्यस अवसरमा उम्मेदवार श्रेष्ठले पार्टीले राष्ट्रियसभामा आफ्नो आवश्यकता देखेर नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू राष्ट्रियसभामा जान तयार भएको बताए । आगामी दिनमा समेत पार्टी र देशको हितका लागि उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने जानकारी दिँदै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुखको १८ मतभार छ । निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मत छ ।