मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका छ – मन्त्रि भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
4.1K
SHARES

६ पौष काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आइतबार आयोजित छलफलमा उहाँले मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा त्यस क्षेत्रको विकास जुन गतिमा हुनपर्ने थियो, त्यो हुन नसकेकाले नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिने बताउँदै उनले प्रादेशिक र स्थानीय तहका सरकारले पनि त्यस क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उल्लेख गरे ।कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले त्यस क्षेत्रको विकासका लागि अहिलेसम्म भइरहेका प्रयासको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन थप सुविधा उपलब्ध गराउन नयाँ योजनाको खाँचो औँल्याए । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विँडारीले त्यहाँको महत्वलाई दीर्घकालसम्म जोगाइराख्न स्मार्ट सिटी बनाउन नहुने विचार व्यक्त गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न धार्मिक समुदायका सांस्कृतिक गतिविधि तथा स्थानीय पहिचानलाई पनि कायम गर्नुपर्ने बताए । पर्यटनविद् कर्ण शाक्य, अम्बिका श्रेष्ठ लगायतले नजिक रहेका विभिन्न उद्योगलाई सार्नुपर्ने बताउँदै वन वातावरण तथा वन्यजन्तुको समेत ख्याल गरी योजना ल्याउनुपर्नेमा जोड दिए ।