कोरोना र विपन्न वर्गका लागि एक बर्षको तलब सहयोग गर्छु -प्रवक्ता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७
5.4K
SHARES

०१ बैशाख काठमाडौँ ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने बताएका छन्।एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताएका हुन्।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ सोमबार सामाजिक संजाल मार्फत श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’

उनले सांसद नभएका बेला पनि घरखर्च पार्टीले दिँदै आएकोसमेत उल्लेख गरेका छन्। ‘यसअघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो,’ उनले भनेका छन्, ‘खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले।‘उनले आफू घुस र भ्रष्टाचारको शत्रु भएको पनि बताएका छन्। ‘घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु,’ उनले भनेका छन्। सांसद नभएका बेला पनि आफ्नो जीवन चलेकै थियो भन्दै श्रेष्ठले थपेका छन्, ‘सांसद नभएको यस अघिको नौ वर्षको अवधिमा पनि खाएकै थिएँ, बाँचेकै थिएँ।’