कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध होऔं-प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
5.3K
SHARES

१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् ।

“सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ”, सन्देशमा भनिएको छ, “यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।”

सन्देशमा सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइमा विजयी हुनेछौँ भनिएको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ । पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन् ।

“अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ, यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन”, विज्ञप्तिमा भनिएको छ, “यसबाट केही हदसम्म भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम पनि प्रभावित हुनपुगेका छन्, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनःनिर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ, पुनःनिर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ ।”