दोस्रो मुलुकबाट चिनी आयात गरिने
२० वैशाख, काठमाडौं । सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । सरकारी भण्डारणमा रहेको मौज्दात सकिँदै गएपछि चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।बजारको माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएको हो । चिनी खरिद प्रक्रिया सहमतिका लागि अर्थ मन्त्रालयसँग छलफल थालिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले अनलाइनखबरलाई बताइन् ।
‘मूल्य बढ्न नदिन ५० हजार मेट्रिकटन चिनी आवश्यक रहेको र यसका लागि अर्थसँग छलफल थालिएको छ,’ केसीले भनिन् ।सरकारी स्वमित्वको साल्ट्रेडिङ कम्पनी लिमिटेडसँग लकडाउनको पाँचौं हप्तासम्म आइपुग्दा जम्मा चार हजार ९९ मेट्रिकटन मात्रै चिनीका मौज्दात बाँकी छ । देशभरका १२ वटा चिनी मिलमा ६३ हजार दुई सय ७ मेट्रिकटन चिनी बाँकी रहेको सरकारी अनुमान छ ।नेपालमा वार्षिक चिनीको माग दुई लाख ३० हजार मेट्रिकटन रहेको चिनी उत्पादकहरूको दाबी छ । जसमध्ये एक लाख २० हजार मेट्रिकटन हाराहारी चिनी स्वदेशमै उत्पादन हुन्छ ।
सरकारी स्वमित्वको साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । स्वदेशमा उत्पादित चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ हो । उक्त मूल्यमा भ्याट र ढुवानी भाडा जोडिँदा मूल्य प्रतिकिलो ७५ रुपैयाँ हाराहारी पुग्न जाने संघका अध्यक्ष शशीकान्त अग्रवाल बताउँछन् ।सार्वजनिक खरिद प्रक्रियाबाट चिनी आयात थाल्दा कम्तीमा पनि ४५ दिन लाग्ने भएकाले मन्त्रालयले छिटोबाट चिनी आयात गर्ने विकल्पमा छलफल गरिरहेको बताइएको छ।