९ कात्तिक काठमाडौं । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् ।शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो ।
इस्लामिक स्टेटले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ ।हालैका दिनहरुमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गरेको छ ।
कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको बेला हिंसा भने रोकिएको छैन । यो पछिल्लो आक्रमण पनि त्यसैको असर हुन सक्ने बीबीसीले जनाएको छ ।अफगानिस्तानका चरमपन्थी समूहले शिया समुदायलाई निशाना बनाउँदै आएका छन् ।
शनिबार शैक्षिक संस्थालाई लक्षित गरी भएको आक्रमण पहिलो भने होइन । सन् २०१८ को अगष्टमा भएको एक आक्रमणमा ४८ जना मारिएका थिए । अधिकांश विद्यार्थीहरुको मृत्यु भएको सो आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।