सरकार निर्मम दमनमा उत्रिन्छ – गृहमन्त्री थापा
१ फागुन काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले ‘प्रतिक्रियावादी शक्ति’ले अवरोध गरेका खण्डमा सरकारले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा मन्त्री थापाले समाजवादी क्रान्ति अघि बढाउने क्रममा प्रतिक्रियावादी वर्गले सशस्त्र आक्रमण गर्न खोजे सरकारले त्यसविरुद्ध सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउने बताएका हुन्।
हिजोजस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएको तर प्रतिक्रियावादी वर्गले सशस्त्र रूपमा अवरोध गर्न खोजेमा भने त्यसविरुद्ध सरकारले सशस्त्रै प्रतिकार गर्नुपर्ने अवस्था पनि आउन सक्ने उनले बताए। ‘हामीले यो समाजवादी क्रान्ति अघि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्छ, समाजवादी कार्यक्रम लागू गर्ने क्रममा त्यो अवस्थामा हामीले फेरि हतियार उठाउने, उनीहरूको दमन गर्नुपर्ने स्थिति आउन सक्छ।’
उनले अगाडि भने, ‘प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गरे भने समाजवादी क्रान्तिलाई रोक्न, असफल पार्न भने, सरकारले, सरकारसँग सेना छ, सरकारसँग प्रहरी छ भने त्यो अवस्थामा हामीले उनीहरूलाई सशस्त्र दमन गर्नुपर्ने स्थिति आउन सक्छ।’ तर अहिल्यै त्यो स्थिति नभएको तर भोलिको सम्भावनालाई ध्यानमा राखेर तयारीमा रहनुपर्ने मन्त्री थापाले बताए।
‘हिजो हामीलाई शान्तिपूर्ण ढंगले जनवादी क्रान्ति गर्ने अवस्था थिएन, किनकि सत्ता जनताको हातमा थिएन, प्रतिगामी वर्गको हातमा थियो, त्यसकारण सशस्त्र प्रतिरोध गर्नुपर्ने, हतियार उठाउनैपर्ने त्यो कारणले पैदा भएको थियो भने आज त्यो अवस्था छैन,’ उनले भने, ‘आज हामीले केवल भोलिका सम्भावनाहरूलाई श्रमजीवी वर्गले आफूलाई तयार गर्नुपर्छ।’