यस्तो ‘सर्कुलर’ जारी गर्यो माओवादी केन्द्रले


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
4K
SHARES

४ चैत काठमाडौं। आज नेकपा माओवादी केन्द्रले पार्टीको प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई सर्कुलर जारी गरेको छ। नेकपा विवादबारे सर्वोच्च अदालतको फैसलापछि साविककै अवस्थामा क्रियाशील भए यता माओवादी केन्द्रले पहिलो पटक यस्तो सर्कुलर जारी गरेको हो।

नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलामा रिट निवेदकको मागदावी भन्दा बाहिर गएर ‘अस्वाभाविक ढंग’ले राजनीतिक फैसला गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजन गर्दै पूर्व पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएपछि आफूहरूले त्यसप्रति गम्भीर असहमति जनाएको उक्त सर्कुलरमा उल्लेख छ।

तर पनि सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा लैजानुपर्ने स्थितिका कारण नेकपा माओवादी केन्द्र पुनः सञ्चालन एवं क्रियाशील भएको भन्दै सर्कुलरमा चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठक र चैत ३ गते बसेको स्थायी समितिको बैठकका निर्णयबारे जानकारी गराइएको स्रोतले बताएको छ।

स्रोतका अनुसार सर्कुलरमा सम्बन्धित प्रदेश समिति अन्तर्गतका पार्टी सदस्यहरूको अभिलेख विवरण १० दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य पठाउन निर्देशन दिइएको छ। यस्तै सबै स्तरका समितिहरू, विशेषतः प्रदेश र जिल्ला समितिहरूले आफ्नो र आफू मातहतका समितिहरूको बैठक राख्ने र नयाँ परिस्थिति तथा नयाँ कार्यभारका बारेमा जानकारी गराउने कार्य योजना बनाइ तत्काल कार्यान्वयन गर्न समेत निर्देशन दिइएको स्रोतले बतायो।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सर्कुलरमा हरेक प्रतिकुलता, चुनौतीलाई छिचोल्दै क्रान्तिकारी उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय स्वाधीनताको रक्षा, क्रान्तिकारी आन्दोलनको विकास, कम्युनिस्ट पार्टीको क्रान्तिकारीकरण एवं सुदृढीकरण र कम्युनिस्ट आन्दोलनको एकीकरणको पक्षमा दृढतापूर्वक लागिरहनु पार्टीका सबैको कर्तव्य र अभिभारा रहेको पनि स्मरण गराइएको छ।

यस दिशामा अविचलित भई क्रियाशील हुन अध्यक्ष प्रचण्डले पार्टीका सबै नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई सोही सर्कुलरमार्फत अपिल गरेको स्रोतले बताएको छ।