भेलामा व्यस्त छौ, दलको बैठकमा उपस्थित हुन सक्दैनौ – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
3.7K
SHARES

४ चैत काठमाडौँ । एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ।

एमाले संसदीय दलका नेता ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्नका लागि भन्दै संसदीय दलको बैठक बोलाएका छन्।

एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएको छ। एमाले सचिव योगेश भट्टराईले भने, ‘आजमात्र हामीलाई मोबाइलमा सूचना आएको थियो कि ‘प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाउनुभएको छ’ भनेर।’

राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने भट्टराईले बताए।