आजको संसदीय दलको बैठकमा माधव पक्ष नजाने
५ चैत काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको दलको बैठकमा माधव नेपाल समूह नजाने भएको छ ।
कार्यव्यस्तताका कारण दलको बैठकमा उपस्थित हुन नसक्ने योगेश भट्टराईले जानकारी दिए ।बुधबार कार्यकर्ता भेलापछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री र हाम्रो संसदीय दलको सचिवालयलाई नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आयोजना भइरहेको छ ।
यसमा पार्टीका अधिकांश नेता, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यको सहभागिता छ भन्ने जानकारी नभएको होइन ।
हामीलाई संसदीय दलको बैठकमा जानका लागि कुनै समस्या छैन । हामी जान्छौँ, दलको बैठकमा आपत्ति होइन । तर, प्रधानमन्त्रीलाई विनम्रताका साथ कार्यव्यस्तताले संसदीय दलमा उपस्थित हुन सक्दैनौँ भनेर बताएका छौँ ।’
अन्य अनुकूल समयमा डाकिएको दलको बैठकमा उपस्थित हुने उनको भनाइ थियो । ‘अनुकूल समयमा डाकिने संसदीय दलको बैठकमा हामी भाग लिन्छौँ,’ उनले थपे ।