समानान्तर कमिटी बनाउनेलाई कारबाही गर्न निर्देशन
१५ चैत रुपन्देही। अर्घाखाँची जिल्लामा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाएपछि विवाद चर्किएको छ। नेपाल समूहको भेलाले रामबहादुर चौहानको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो।
साविक एमालेका जिल्ला सचिवमा रहेका रामबहादुर चौहानलाई नेकपा एमालेले जिम्मेवारीबाट हटाएर तोजबहादुर रायमाझी (विधान)लाई सचिव बनाएपछि विवाद चर्किएको थियो। विधान माओवादी केन्द्रबाट एमालेमा लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीका भाइ हुन्। नेपाल समूहको समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उपसचिव प्रेम गैरेलगायत छन्।
शनिवार जिल्ला भेला गरेर आफ्नो नेतृत्वमा नेतृत्वमा ७२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेता रामबहादुर चौहानले जानकारी दिए। उनले २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकिएको दाबी गरे। नेकपा एमालेको जिल्ला कमिटीमा २०७५ सालमै निर्वाचित अध्यक्ष चेतनारायण आचार्य नै जिम्मेवारीमा रहेका छन्। उनी पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य हुन्।
नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले पार्टी हित विपरीत गुटगत भेला गरेर कारबाहीमा परेकाहरू एमालेको नेतृत्वमा बस्न नसुहाउने बताए। उनले भने, ‘अर्घाखाँचीमा पार्टीले कारबाही गरेका नेता दुमनसिंह थापा, पीताम्बर भुसालको सक्रियतामा पार्टीलाई कमजोर बनाउने, गुटगत भेला गर्ने काम भएको छ, यस्तो काममा लाग्ने, नेतृत्व गर्ने सबैलाई तत्काल कारबाही हुन्छ।’
गिरीले तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको बताए। अर्घाखाँचीमा माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का एमालेमा आएर जिम्मेवारी पाएपछि माधव नेपाल समूह थप सशंकित भएको थियो।- साभार लोकपाटीबाट