पार्टी फुटाउन ओली सक्रिय
२४ चैत काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन्। ओलील नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन्। नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन्।
आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।
‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ। यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने। ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन्।
खनालको स्वास्थ्यावस्था बुझ्ने बाहनामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन्। आजको नागरिक दैनिकमा समाचार छ।