रावलले कमिटी घोषणा गर्दै
२४ चैत कैलाली। नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ। सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारित बैठकले समानान्तर कमिटी बनाउने भएको हो।
एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ। सोमबार बैठक नसकिएपछि मंगलबार पनि जारी रहने छ।
बैठकमा सहभागी एक नेताका अनुसार मङ्गलबार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बताए। सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए। एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्न समेत उनीहरूले नेतृत्वलाई सुझाव दिए।
बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन्।
बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए।