हामीलाई ओलीबाहेक अरूको विश्वास छैन – नेता कर्ण


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०७७
4.3K
SHARES

२४ चैत काठमाडौं- ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरूको विश्वास छैन, हामी उहाँकै साथमा छौँ,’- जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको भनाइ छ ।

कांग्रेसको पछिल्लो निर्णयपछि अब तपाईंहरूको समर्थन कता भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मधेसका मुद्दा ओलीले मात्र समाधान गर्न सक्नुहुन्छ, सम्बोधन गर्न सक्नुहुन्छ, यही कारण हामी ओलीको साथमा छौँ ।’ प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

मधेसका मुद्दा ओली सरकारबाहेक अरूले सम्बोधन गर्न नसक्ने दाबी गर्दै कर्णले प्रश्न गर्नुभयो, ‘सरकारमा भएको पार्टीले नसकेर अरूले सक्लान् र ? अहिले हामीले एमालेसँग मात्र छलफल गरिरहेका छौँ ।’

कांग्रेस र माओवादी केन्द्रसँग छलफल नभएको बताउँदै कर्णले भन्नुभयो, ‘छलफल भएपनि उहाँहरूले हाम्रा माग सम्बोधन गर्न सक्नुहुन्न, विगतमै पनि यो पुष्टि भइसकेको छ ।’ नेपाली कांग्रेसले त कुनै हालतमा मधेसका माग सम्बोधन गर्न नसक्ने कर्णको दाबी छ ।

‘अरूले माग सम्बोधन गर्न सक्दै सक्दैनन्, ओली सरकार सकारात्मक देखिएको छ, हाम्रा माग चाँडै सम्बोधन गर्छ भन्ने विश्वास छ,’ कर्णले भन्नुभयो ।

सरकारसँग छलफल जारी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘माग सम्बोधन भएपछि मात्र सरकारलाई औपचारिक रूपमा सहयोग गछौँ, ढिलोचाँडो ओली सरकारले माग सम्बोधन गर्छ ।’- नेपालीबहसबाट