आजको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ४ २०७८
2.9K
SHARES

३ वैशाख काठमाडौं। आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्।शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले आफैले शुक्रबार फोन गरेका थिए। प्रचण्ड निकट स्रोतले भेटघाटका लागि फोन गरेको भए पनि सर्वदलीय बैठकका बारेमा कुराकानी नभएको दाबी ग¥यो। बैठकमा नबोलाइएकाले प्रचण्ड सहभागी नहुने स्रोतले बतायो।

यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन्। उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको बैठकलाई बहिष्कार गरेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागिता जनाएका थिए। पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेयता चार महिनासम्म ओली–प्रचण्डबीच बालुवाटारमा भेटघाट भएको छैन।

शनिवारको सर्वदलीय बैठक पनि एमालेका वरिष्ठ नेता नेपालले पनि बहिष्कार गर्ने भएका छन्। नेपालको सचिवालयले बैठकबारे जानकारी नै नभएको बताएको छ। ’निलम्बन गरेको मानिसलाई कहाँ बोलाउनुहुन्छ र। खै बैठकबारे हामीलाई जानकारी छैन्,’ सचिवालयका एक सदस्यले भने।

ओलीले पार्टीको विधान विपरित गितिविधि गरेको भन्दै नेपाल समूहका ४ जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

यस्तै, बैठकमा कोभिड–१९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनका बारेमा छलफल हुने भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कोभिड–१९ संक्रमणका बारेमा छलफल केन्द्रित हुने बताए। सरकारका बारेमा छलफल गर्ने एजेण्डा नभएको उनले बताए।