माओवादीले सरकारलाई समर्थन नरहेको पत्र बुझाउँदै
२२ वैशाख काठमाडौं। माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र आज संसद सचिवालयमा दर्ता गर्दैछ। माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई बुझाउने भएको हो।
पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। मंगलबार बसेको स्थायी कमिटी बैठकले तीन प्रदेश प्रमुखहरुलाई बिनाकारण पदमुक्त गरेकोप्रति पनि आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए।
पोखरेलले भने, ‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद बिहान ११ बजेतिर हुनसक्छ।’ माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।