प्रधानमन्त्री ओलीले घृणित राजनीति गरिरहेका छन् – नेता रावल
२३ वैशाख काठमाडौं। एमालेका नेता भीम रावलले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घृणित राजनीति गरेको आरोप लगाएका छन्।
आफ्नै सांसदलाई कारबाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको नेता रावलको टिप्पणी छ।
प्रधानमन्त्री ओलीसहित एमाले नेताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग बुधवार बुढानीलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर काँग्रेसले विश्वासको मत दिन नसकिने प्रस्ट बताएको छ।
ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका थिए। पार्टीका नेताहरूसँग छलफल नगरेर ओलीले विपक्षी दलको सहयोग मागेपछि नेता रावलले प्रधानमन्त्रीको घृणित राजनीतिले देश संकटग्रस्त भएको धारणा राखेका हुन्।
‘प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।
उनले लेखेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’ ओलीले रावलसहित एमालेका चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छन् भने अन्य सांसदलाई स्पष्टीकरण सोधिएको छन्।
