नेपालको एकता ओलीको जुवामा नारिनुजस्तै हो – संग्रौला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
8.7K
SHARES

२४ वैशाख काठमाडौं। लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नेकपा एमालेका नेता माधव नेपालले केपी ओलीसँग एकताको प्रयास गर्नु ओलीको जुवामा नारिनुजस्तै भएको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेखक संग्रौलाले यो एकताको अर्थ ओलीको जुवामा पुनः नारिनु भएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘मिति गुज्रेको एमालेको माधव–झल समूहका सत्त्व,निजत्त्व र स्वाभिमानविहीन डुरे मुसाहरू “एकता गरिपाऊँ प्रभु“ भन्दै प्रातःस्मणीय ख्वामित् ओलीका चरणमा फेरि लम्पसार पर्न थालेछन्। यो एकताको अर्थ ओली सरको जुवामा पुनः नारिनु हो। दासलाई सबैभन्दा डरलाग्ने कुरा स्वतन्त्रता हो।जय बयलगाडे! ’

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।

बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए। दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन्।

यस्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका थिए।नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए। विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए।

 

Capture