नेपालले ओलीलाई दिए यस्तो चेतावनी
२५ वैशाख काठमाडौं । आज एमाले नेता माधवकुमार नेपालले बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नहुने बताइसकेका छन् । सभामुख अग्नि सापकोटा पनि नजाने भनिरहेका छन् ।
अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराएका हुन् ।
“कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,” उनले भनेका छन्, “मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।”