प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुदै , यस्ता छन एजेण्डा ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
6.7K
SHARES

३१ वैशाख काठमाडौं। आज नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। अध्यक्ष ओली र नेता नेपालबीच साझ साढे ६ बजे भेटवार्ता हुन लागेको हो। एमाले नेता सुवास नेम्वाङका अनुसार, दुई नेताबीच भेटवार्ता हुने र विवाद समाधान गर्ने विषयमा थप छलफल हुनेछ। भेटमा एमालेको विवाद टुंगो लगाउन गठन गर्ने भनिएको कार्यदलको विषय पनि टुंगो लगाउने तयारी छ।

बिहीबार उनीहरू चपलीहाइटस्थित रामेश्वर थापाको घरमा कुराकानी गरेका थिए। शुक्रबार पनि उक्त कुराकानीलाई उनीहरूले निरन्तरता दिन लागेका हुन्। उनीहरूबीच आज सिंहदरबारमा भेटवार्ता हुने सम्भावना छ तर ठाउँ निश्चित भइसकेको छैन। आजको भेटमा दुबै पक्षबाट अन्य नेता पनि सहभागी हुने स्रोतको भनाइ छ। ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन्।

यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्। ओली र नेपालबीच बिहीबारको भेटवार्ता सकारात्मक भएको र पार्टीभित्र देखिएका विवाद समाधानउन्मुख रहेको नेताहरूको भनाइ थियो।

एक कार्यदल बनाएर विवाद हल गर्नेमा उनीहरू छन्। नेपाल पक्षले सांसद पदबाट राजीनामा दिने भने पनि बिहीबारको छलफलपछि रोकिएको थियो। अध्यक्ष ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको कारवाही फुकुवासमेत गरेका थिए। नेपाल पक्षले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी अगाडि बढ्नुपर्ने अडान राखेका छन्।

नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसकेकी छिन्। ओलीले आजै पदभार समेत गर्दैछन्।