हामी ओलीको पक्षमा होइन , हाम्रो पक्षमा ओली उभिनु पर्छ – नेता रावल
१ जेष्ठ काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिवर्तन गरिनसकेको बताएका छन्। शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड-१९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता रावलले यस्तो बताएका हुन्। उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भए पनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताए।
उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिवर्तन गरिसकेको अवस्था छैन। यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ। तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरू जनताका समस्याहरू छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनत गर्नुपर्ने देखिन्छ।’
आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल-खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरूको अडान यथावत् रहेको प्रतिक्रिया दिए।
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया उनले दिए। उनले भने, ‘हामी अहिले पनि कानूनी शासन मान्ने पद्धति अनुरूप देश, विभिन्न संगठनहरू विशेष गरी राजनीतिक दलहरू चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्ग निर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत् रहनुपर्दछ र अमिल्दा कुराहरू रद्द भएर पार्टी स्वाभाविक रूपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौं।
यस सन्दर्भमा हिजो जे जति कुराहरू भए ती कुराहरूमा केही सकारात्मक कुराहरू अवश्य भएका छन्। त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ।’