एमाले विवाद : कार्यदलको बैठक आज पनि अनिश्चित , के होला एकता ?
४ जेठ काठमाडौं । एमालेको विवाद समाधान गर्ने उद्धेश्यसहित गठित वार्ताटोलीको बैठक मंगलवार पनि अनिश्चित भएको छ ।
पार्टीको विद्यमान समस्या समाधानको लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक सोमबार बस्ने कार्यसूची थियो । तर माधव नेपाल पक्षका वार्ता टोलीका संयोजक भीम रावलको आँखामा समस्या आएपछि हिजो बैठक बस्न सकेको थिएन् ।
आज पनि बैठक बस्ने नबस्नेबारे कुनै पनि निर्णय नभएको नेताहरुले बताउँछन् । कार्यदलले तीन दिनको समय पाएको भएपनि दोस्रो दिन आजपनि बैठक बस्नेबारे कुनै टुंगो नभएको नेपाल पक्षका वार्ता टोलीका सदस्य रघुजी पन्तले बतनउनुभयो ।
प्रधानमन्त्री ओलीका तर्फबाट कार्यदलमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवालीले भने आज बैठक बस्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
अध्यक्ष केपी शर्मा अोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच/पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।
ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले सोमबार अस्पताल जानुपरेको कारण समय अनिश्चित भएको थियो । तर मंगलवारको लागि पनि कुनै तयारी नदेखिइएको बताइएको छ ।
वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।