नेपाल निवासमा गृहमन्त्री थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
2.9K
SHARES

४ जेठ काठमाडौं। आज गृहमन्त्री रामबहादुर थापाले नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर राष्ट्रियसभा उपनिर्वाचनमा आफूलाई जिताउन आग्रह गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनको मिति नजिकिएका बेला थापा आफूलाई सहयोगका लागि अनुरोध गर्न नेपाल निवास कोटेश्वर पुगेका हुन्।

जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ। एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ।

एमालेभित्रको विवादका कारण नेपाल पक्षसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। नेता नेपाल र अध्यक्ष ओलीबीच पार्टी एकताको विषयमा सहमति भएर कार्यदलसमेत बनिसकेपछि थापा उपचुनावमा सहयोग माग्न कोटेश्वर पुगेका हुन्।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री थापा उपचुनावमा सहयोग र पार्टी एकताको विषयमा छलफल गर्न कोटेश्वर पुगेका हुन्। ‘बिहीबार हुने राष्ट्रियसभाको उपचुनावमा सहयोगको आग्रह गर्न र पार्टी एकताको विषयमा छलफल गर्न गृहमन्त्री वरिष्ठ नेता नेपाल निवास पुग्नु भएको हो,’ भट्टराईले भने।