प्रधानमन्त्री ओलीबाट आचार संहिता मिचियो – निर्वाचन आयोग
५ जेठ काठमाडै ।आज निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार हुन लागेको उपनिर्वाचनलाई मत माग्नेलगायत प्रचारप्रसारका काम गर्न नमिल्ने बताएको छ। जेठ ३ गते राति १२ बजेदेखि नै मौन अवधि सुरू भएकोले यसबीचमा मत माग्ने गरी उम्मेदवारको प्रचारप्रसारका साथै समाचार प्रकाशनरप्रशारण गर्न नमिल्ने आयोगको भनाइ छ।
आजै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापाका पक्षमा मत दिन अपिल जारी गरेका थिए।
त्यसको केही समयपछि आयोगले विज्ञप्ति निकालेर मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेको छ। ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसवुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन वा प्रशारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले अनुरोध गरेको छ,’ आयोगका सहसचिव राजकुमार श्रेष्ठले विज्ञप्ति निकालेर भनेका छन्।
साथै केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिएको भन्दै आयोगले विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको हो।
‘प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जितरहारको पूर्वानुमानका सामग्री प्रसार गर्ने तथा अन्तर्वार्ता लिने गतिविधि देखिएकोले आयोगको ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘आचारसंहिताविपरीत काम गरे आयोगले कारवाही गर्न सक्छ।’
बिहीबार बागमती प्रदेशमा अन्यतर्फ रिक्त एक पदका लागि राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ। बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय दिइएको छ। यो उपनिर्वाचनमा ३४८ जना मतदाता छन्। ११० प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुख गरी २३८ ले मत दिन पाउँछन्।