यस्तो निष्कर्ष निकाल्दै नेपाल पक्षको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
7.3K
SHARES

२० जेठ काठमाडौं।आज  नेकपा एमालेबाट निष्काशित झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एक हुने सम्भावना कम हुँदै गएकोले आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने सुझाव दिएका छन्।

भर्चुअल माध्यमबाट जारी खनाल-नेपाल पक्षको बैठकमा सुझाव राख्ने अधिकांश नेताहरुले यस्तो बताएका हुन्।एक नेताका अनुसार छलफलमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए। ती नेताका अनुसार नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिने संकेत नदेखिएको र वार्ता, छलफलका नाममा फेरि झुक्याउन खोजेको कुरा दोहोर्‍याएका छन्। आफ्नो ब्रिफिङ सकेलगत्तै नेता नेपालले केन्द्रीय सदस्यहरुलाई आफ्ना राय, सुझाव राख्न भनेका थिए।

नेता नेपालपछि अर्का बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए। खनालले अध्यक्ष ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको भन्दै यसलाई बचाउनु सवैको कर्तव्य भएको बताएका थिए। तर उनले ओलीका गतिविधि सच्चिने तर्फ अझै नदेखिएको धराणा राखेका थिए।

‘ओलीका गतिविधि अझै सच्चिने तर्फ गएको देखिँदैन,’ खनालको भनाइ थियो। छलफलमा नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे ब्रिफिङ गरेका थिए। पाण्डे र भुसाल दुवैले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको आफुहरुलाई भान भएको बताएका थिए।

पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलका नेतामध्ये भीम रावललाई ओलीले कारवाही गरेपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग छलफल गरेका थिए। तर संस्थापन पक्षसँगको छलफलले ठोस प्रगति र आकार ग्रहण गर्न नसकेको पाण्डे र भुसालले छलफलमा ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले लाई बताए।

‘ओली पक्षबाट वार्तामा बसौं भन्ने कुरा आयो। पार्टी मिल्छ भने संवाद गर्दैमा केही बिग्रिदैन भनेर हामीले पनि प्रयास गर्यौ र बस्यौँ तर प्रयोग गर्न खोजेको जस्तो अनुभुति भयो,’ पाण्डेको भनाइ उदृत गर्दै ति नेताले भने। बोल्ने अन्य नेताहरुले भने ओलीको भुलभुलैयामा लाग्न नहुने सुझाव दिएका थिए। उनीहरुले स्पष्ट कार्यदिशासहित अघि नबढे कम्युनिस्ट आन्दोलनमा थप क्षती हुने धराणा राखेका थिए।