जनमोर्चा सरकारमा सहभागी हुँदैन – अध्यक्ष केसी


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
14.1K
SHARES

३० जेठ पोखरा। आज राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्। प्रदेश सरकारमा पार्टी सहभागी नहुने तर सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने अध्यक्ष केसीले बताए। अध्यक्ष केसीले  एक वक्तव्य जारी गरी ‘प्रतिगमनको मतियार बनेको’ गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धनलगायत सबैलाई बधाई समेत दिएका छन्।

‘केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो’ केसीले भनेका छन्, ‘त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन्। जुन स्वागतयोग्य कुरा हो।’

जनमोर्चाले नयाँ सरकारलाई समर्थन रहने स्पष्ट पारेको छ। नयाँ सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको जनमोर्चाले सरकारमा सामेल नभई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने जनाएको छ।

‘उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ’ केसीले भनेका छन्।जनमोर्चाले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ‘प्रतिगमनको मतियार बनेको’ भन्दै गण्डकी सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेको थियो।