कपिलवस्तुमा हत्या काण्ड : माओवादी नेताको हत्यामा श्रीमती नै संलग्न


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
13.6K
SHARES

३१ जेठ काठमाडौं । अहिले कपिलवस्तुका नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको योजना रहेको खुलेको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या भएको खुलेको हो । जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना बनेको थियो । एसपी अधिकारीले  भने, “हत्या योजना २/३ वर्षअघि नै बनेको देखिन्छ । उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरुले आफ्नो योजना सफल बनाएको देखियो ।”

अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेका थिए । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको छ ।

प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा सातजनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ । उनका अनुसार ओमप्रकाशले हत्याको योजना बनाएको, हतियार खरिद गरेको र आफ्नै उपस्थितीमा मार्न  पक्राउ परेका अन्यको भने हत्यामा नभई हतियार व्यवस्थापनमा संलग्नता रहेको खुलेको छ ।