एमालेका दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा
३१ जेठ काठमाडौ । एमाले पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।
एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । एक नेताका अनुसार सम्वाद भने सकारात्मक बन्दै गएको छ । ‘ठोस सहमति नभएसम्म भन्न सकिन्न । तर सकारात्मक वातावरण बनेको छ’, ती नेताले भने ।