यस्तो निर्णय गर्दै बुढानीलकण्ठ बैठक सम्पन्न
७ असार काठमाडौं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफूहरुबीचको गठबन्धनलाई थप बलियो बनाउने समझदारी गरेका छन्।
आइतबार अपराह्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले गठबन्धनलाई अझै बलियो बनाएर जाने समझदारी गरेका हुन्।
आइतबार कांग्रेस सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरुको बैठक बसेको थियो।
आइतबारको बैठकले प्रदेशमा सरकार फेरबदलको कुरालाई प्रदेशकै औचित्यका आधारमा अगाडि बढाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।
पछिल्लो समय गण्डकी प्रदेशमा एमालेको सरकार हटाएर गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरिएको थियो। सुदूरपश्चिम र कर्णालीमा माओवादी केन्द्र र प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ।
लुम्बिनी, बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ। विपक्षी गठबन्धनको आइतबारको बैठकले विपद्मा रकारले उद्दार तथा राहतका काममा उचित कदम नचालेको विषयमा छलफल भएको पनि जनाइएको छ।