ओली पक्षले एकता भाँडेका हुन – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ७ २०७८
12.4K
SHARES

७ असार काठमाडौं । नेकपा (एमाले) को एकीकरणका लागि भइरहेको वार्ता र प्रक्रिया अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले भाँडेको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। नेपाल पक्षका तर्फबाट वार्तामा सहभागी नेताहरूसँग छलफल गर्दै ओलीले एकता नचाहेको नेपालले बताएका हुन्।

सोमबार दिउँसो नेपालनिवास कोटेश्वरमा नेपालका साथै वार्तामा सहभागी नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यबीच छलफल भएको थियो। एकीकरणका लागि सक्रिय नेताहरूले ओली पक्षले आफूहरूसँग भ्याकेटमा नजाने बताएको ब्रिफिङ नेता नेपालसँग गरेका थिए।

अन्‍तिमपल्ट शनिबार वार्ता हुँदा पनि नेपाल पक्षका नेताहरूले २०७५ जेठ २ मा फर्किन वातावरण बन्ने नेपाल पक्षका नेताहरूलाई बताएका थिए। आइतबारदेखि संवाद टुटेको थियो भने सोमबार बिहानै भ्याकेट निवेदन दर्ता भएको हो।

नेपाल पक्षले सबै कारबाही फिर्ताको माग गरिरहेका बेला कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्ने आदेशविरुद्ध ओली पक्षले निवेदन दिएको हो।

भ्याकेट निवेदन दर्तासँगै ओली पक्षले एकता नचाहेको नेपाल पक्षको बुझाइ रहेको छ। एकीकरणका लागि सक्रिय नेताहरू समेत अनेपेक्षित रुपमा आएको उक्त निवेदनले आफू चकित पारेको बताउँछन्।

नेपालसँगको छलफलमा सहभागी एक नेताले भने, ‘सबै कुरामा सहमति जुटिरहेको थियो। हाम्रो पक्षबाट हामीले प्रयास गरिरहेका थियौं। उहाँहरूले भ्याकेटमा तत्काल नजाने भन्नुभएको थियो।’