यी दुई कारणले एमालेको एकता भाँडियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
4.8K
SHARES

८ असार काठमाडौ । अहिले नेकपा एमालेमा जारी विवाद समाधान हुने सम्भावना तत्काल टरेको छ । सर्वोच्च अदालतमा रहेका दुई मुद्दाका कारण नेकपा एमालेको विवाद तत्काल मिल्ने सम्भावना टरेको हो । कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएको कारण कारवाहीमा परेका ४ सांसदहरुलाई पुर्नबहाली गर्ने सर्वाेच्चको निर्णयविरुद्ध नेकपा एमालेको संस्थापन पक्ष सर्वाेच्च गएसँगै तत्काल मिल्ने सम्भावना टरेको नेपालपक्षीय नेताहरुले बताएका छन् ।

उता बालुवाटारले भने काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री दावी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा दायर भएको रिटमा हस्ताक्षर गरेका सांसदहरुको हस्ताक्षर फिर्ता लिन नेपाल पक्ष सहमत नभएको कारण मिल्ने सम्भावना टरेको निष्कर्ष निकालेको छ ।

‘शनिबारसम्म कुराकानी ट्रयाकमै थियो। दैनिकजसो छलफल हुने गरेको थियो तर, शनिबारको अनौपचारिक बैठकपछि छलफल रोकिएको छ,’ वार्तामा सहभागी एक नेताले भने, ‘अदालतको फैसलाअघि ओली पक्षसँग सहमति हुने सम्भावना कम भएर गएको छ। यसअघि हाम्रो प्रयास अदालतको फैसलाअघि केही सहमति गर्ने भन्ने थियो।’

ती नेताले फैसलापछि नयाँ परिस्थिति सिर्जना हुने र सोहीअनुसार संवाद अघि बढ्ने बताए। सहमति जुटाउन पछिल्लो पटक विष्णु पौडेल र घनश्याम भुसाल निरन्तर छलफलमा थिए।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टले आइतबार साँझ प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एकताको विषयमा छलफल गरेका थिए।

‘भेटमा प्रधानमन्त्री ओलीले विघटनविरुद्ध परेको मुद्दा फिर्ता लिनुपर्ने बताउनु भयो। हामीले त्यो सम्भव छैन भन्यौँ,’ भेटमा सहभागी एक नेताले भने, ‘अहिलेको अवस्थामा एमालेको एकता अदालतमै गएर अड्किएको छ। अदालतमा विचाराधीन मुद्दाले गर्दा अहिले सहमति गर्न अफ्ठ्यारो भएको छ।’

जवाफमा नेपाल पक्षका नेताहरुले प्रतिनिधि सभा विघटन गरेको कारण अदालतसम्म जानुपरेको बताएका थिए। तिनै नेताले सोमबार बिहान नेपालसँग उनकै निवास कोटेश्वरमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले विघटन गर्नुभयो, हामी मुद्दामा गयौँ। अदालतमा विचाराधीन विषयलाई यताउति गरेर हुने कुरा छैन,’ आचार्यले भने ‘अदालतले जे निष्कर्ष निकाल्छ त्यसलाई हामी सबैले मानेर जाने हो। अहिले अदालतमा विचाराधीन विषयलाई अदालतमै छाडेर पार्टी एकता गरेर जानुपर्छ।’

ओली पक्ष पुनरवलोकनमा जाँदा अविश्वासमा झनै बढेको र प्रधानमन्त्री सहमतिमा आउन नचाहेको निष्कर्षमा नेपाल पक्षको छ।

सोमबार साँझ नेता नेपालले फेसबुकमा ट्यासट लेख्दै भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने दिशामा लगेको बताए।

उनले लेखेका छन्, ‘कर्णाली प्रदेशका सांसदहरुमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ, जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

पुस ५ गतेपछि तत्कालिन नेकपा हुँदै अहिले नेकपा एमालेमा विवाद रहँदै आएकोमा समाधानको कुनै पनि प्रगति भने हुन सकेको देखिएको छैन ।