अभिनेत्री घिमिरेको स्वास्थ्यमा सुधार
८ असार काठमाडौ । नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको मुहारमा चमक देखिएको छ ।
अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको नर्भिक अस्पतालले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।विज्ञप्तिका अनुसार अहिले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार भइरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।
‘अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्’ डा.जलान भन्छन् ‘भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन् ।’ उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर गरिरहेको जलानको भनाई रहेको छ ।