यसपटक संसद विघटन मेरो सिफारिशमा होइन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ११ २०७८
15.5K
SHARES

११ असार काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै संविधानमा घुसाइएको बताएका छन् । उनले संसदबाट प्रधानमन्त्री छानिने अहिलेको प्रणाली रहुन्जेल बहुमतको सरकार नबन्ने पनि बताएका छन् ।

सरकार नियन्त्रित नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको बताए ।

प्रधानमन्त्री ओलीले भनेका छन्– पहिलोपल्ट विघटनको प्रस्ताव गरेको थिएँ । प्रतिनिधिसभाको मिति तोक्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदबाट सिफारिश गर्न लगेको थिएँ । त्यो मेरो सिफारिश थियो ।

यसपल्टको सिफारिश मेरो होइन । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिशमा अथवा संविधानको धारा ७६ (७) प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्य रुपमा ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था कार्यान्वयन भएको हो ।

उनले अगाडि भनेका छन्– त्यहाँ ‘बट’–‘इफ’ छैन । प्रधानमन्त्री नियुक्त हुन सकेन, नसकेपछि ७६ (७) ले के भन्छ भने– प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नेछ र निर्वाचनका लागि नयाँ मिति तोक्नेछ । त्यसो भएर यसपल्ट मैले सिफारिश गरेको होइन, संविधानले सिफारिश गराएको हो ।