यस्तो एजेण्डा सहित एमालेका दोस्रो तहका नेताहरू समिट होटेलमा
१६ असार काठमाडौं ।अहिले नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । ललितपुस्थित समिट होटेलमा बेलुकी साढे ५ बजेदेखि नेताहरूबीच छलफल भइरहेको छ । छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । नेता माधव नेपाल पक्षबाट घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे सहभागी रहेको स्रोतले जनाएको छ ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भङ्ग भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरित गरेको छ । रूपान्तरित कमिटीको बैठक शुक्रबार बोलाइएको छ ।
उक्त बैठकमा नेपाल पक्षलाई सहभागी गराउन ओली पक्षका नेताहरू सक्रिय भएका छन् । बुधबार बिहान मात्रै विष्णु पौडेल र घनश्याम भुसाल लगायतका नेताहरूबीच छलफल भएको थियो ।