मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ ?
९ साउन काठमाडौं।अब प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ।
२९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुई गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
तर, सत्तागठबन्धनमा रहेको जसपाको विवाद आयोग पुगेकाले उनीहरूकै आग्रहमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका हुन्। ‘जसपा विवाद मिल्दासम्म एमाले विवादले पनि एउटा रूप लिन्छ भन्ने अपेक्षा छ। दुवै दलले समय मागेका छन्। त्यहीकारण मन्त्रिपरिषद् विस्तारमा केही दिन ढिला हुन्छ,’ देउवानिकट एक नेताले भने।
देउवाले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन्। त्यही कारण पनि शक्ति सन्तुलनमा समस्या नहोस् भनेर मन्त्रिपरिषद् विस्तारलाई उनले पर धकेलेको ती नेताले बताए। सरकार सञ्चालनमा सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको शुक्रबारको बैठकमा मन्त्रालय बाँडफाँडको विषयले प्रवेश पाए पनि टुंगो लागेको छैन। तर, सत्तारुढ तीनदलीय कार्यदलमा मन्त्रिपरिषद् विस्तारमा केही समय ढिला गर्ने सहमति बनेको छ।
‘माधवजीहरूको सरकारमा आउने वा नआउने टुंगो छैन। त्यसैले उहाँहरूले कार्यदलमा पनि सदस्य पठाउनुभएन। तत्काल जसपाको विवाद नटुंगिएसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने सहमति बनेको छ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैले मन्त्रालय बाँडफाँडको विषयमा पनि टुंगो लागेको छैन।’