पार्टी एकता हुनेमा विश्वास छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०७८
3.9K
SHARES

१० साउन काठमाडौं। आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन्। अखिल नेपाल महिला संघ कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्। उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए।

‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ,’ उनले भने, ‘पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’

यद्यपि उनले अहंकार र दम्भ देखाउने, प्रतिक्रियावादीहरुको पुच्छर भएर हिँड्ने र आन्दोलनलाई कमजोर बनाउनेहरुसँग अब एकताको विश्वास नगरेको पनि बताए। अपराध कर्मको नेतृत्व गरिरहेका व्यक्तिहरु बाहेकसँग मात्रै एकता हुने ओलीले बताए।

उनले भने, ‘अब देशलाई माया गर्नेहरु, पार्टीलाई माया गर्नेहरु एक जुट हुनपर्छ। प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौं। आफ्ना सांसदहरुलाई झुक्याएर, प्रलोभनमा पारेर या मतदानबाट बाहिर लगेको हामीले देखिरेहका छौं। तर पनि गल्ती गरेकालाई पार्टीले क्षमा गर्छ। साथीहरु पार्टीमा फर्किनूस्।’