एमाले विवाद : शनिबार निर्णायक डेट , यी हुन् एजेण्डा
१४ साउन काठमाडौं। अहिले नेकपा एमाले अध्यक्ष केपी ओली शनिबार बस्ने स्थायी कमिटी बैठकअघि एमाले विवाद टुंगो लगाउनुपर्ने पक्षमा देखिएका छन्। एमालेको विवाद धेरै तन्किएकोप्रति बेखुस देखिएका उनी वरिष्ठ नेता माधव नेपालविनाको एमाले एकताको पक्षमा पनि खुलेका छन्।
विगतमा पनि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले नेपाललाई एमालेमा ल्याउन नचाहेको संकेत प्रस्टै बुझिन्थ्यो। तर, महासचिव ईश्वर पोखरेललाई आउँदो शनिबार स्थायी कमिटी बैठक बोलाउन निर्देशन दिने क्रममा पनि त्यही संकेत गरेका छन्।
ओलीले प्रस्टसँगै भनेका छन्, ‘आउने साथीहरू आउँदै गर्नुहुन्छ र पार्टी काममा फर्किनुहुन्छ। बाँकी विस्तारै आउनुहोला शनिबार स्थायी कमिटी बैठकले सबै निर्णय गरेर अघि बढ्छ।’
ओलीको त्यही निर्देशन र मनसाय बुझेपछि एमालेको दोस्रो तहका नेताहरू नेपाल पक्षसँग संवाद गर्न लागेका छन्। तर, औपचारिक रूपमा संवाद गरेर निर्णय लिने अवस्था भने छैन। एमाले नेता सुवास नेम्वाङका अनुसार, पूर्व कार्यदलका नेताहरूबीच अनौपचारिक संवाद भइरहेको छ तर औपचारिक छलफल भइहाल्ने देखिएको छैन।
नेम्वाङले भने, ‘नेताहरूबीच अनौपचारिक रूपमा निरन्तर छलफल र भेटघाट त भइरहेको छ तर औपचारिक छलफलचाहिँ तय भएको छैन।’ साउन ७ गते एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी एकताको जिम्मा दिएको थियो। त्यसयता, ओलीले एकता टुंग्याउने गरी नेता नेपालसँग संवाद गर्ने प्रयास नै गरेनन्। नेपालनिकट नेताहरूसँग अनौपचारिक संवादसम्म गरेका ओलीले नेपाललाई भेटेर सहमति गर्न भने रूचि देखाएनन्।
एक सातामा एक पटक पनि भेटका लागि प्रयास गरेनन्। एमाले नेताहरूको भनाइमा आउँदो शनिबारको स्थायी कमिटी बैठकअघिसम्म एमाले विवाद मिल्ने सम्भावना कम छ। ओलीले भनेजस्तै त्यही दिन वारपार गर्ने हो भने नेपाल पक्षका केही नेताहरू छुट्ने अवस्थाको आंकलन गरिएको छ।
कतिपयले चाहिँ नेपाल पक्षमा स्थायी कमिटीमा रहेका अधिकांश नेता र खासगरी कार्यदलमा भएका नेताहरू एमालेमै फर्किन सक्ने सम्भावना रहेको बताइरहेका छन्। ओलीनिकट एक नेताले भने, ‘वारपारको अवस्थामा स्थायी कमिटीका अधिकांश नेताहरूले नेपाललाई छोड्ने स्थिति छ।’
केही स्थायी कमिटी सदस्यले छोड्ने संकेत बुझेर नै हुन सक्छ, ११ साउनमा माधव नेपालनिकट स्थायी कमिटीको बुद्धनगरको क्वालिटी ब्याङ्क्वेटमा बसेको बैठकमा नेपालले इच्छा, चाहना हुनेजति ओलीसँग गए हुन्छ भनेर नेताहरूलाई भनिसकेका छन्। –शिलापत्रबाट