विघटित कार्यदलको बैठक जारी , यी हुन एजेण्डा
१६ साउन काठमाडौं।अहिले नेकपा एमालेको विघटित विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ। विघटित कार्यदलको अनौपचारिक बैठक शनिवार बिहान सिंहदरबारमा बसिरहेको हो।
नेकपा एमालेले आज दिउँसो ३ बजेका लागि बोलाएको स्थायी समिति बैठक अघि सहमति जुटाउने प्रयास स्वरूप विघटित कार्यदलको अनौपचारिक बैठक बसिरहेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भीम रावलसहित ६ जना रहेका छन्।
त्यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी छन्।
विघटित कार्यदलको बैठक अघि नेता घनश्याम भुसालले कोटेश्वर पुगेर वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए। विघटित कार्यदलमा वरिष्ठ नेता नेपाल पक्षबाट रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त रहेका छन्। आजको छलफलमा भीम आचार्य पनि सहभागी छन्।
त्यस्तै अध्यक्ष ओली पक्षबाट नेम्वाङ, ज्ञवाली, पौडेल, शंकर पोखरेल, विष्णु रिमाल सदस्य रहेका थिए। कार्यदलमा यसअघि भएको १० बुँदे सहमतिको स्वामित्व ग्रहण गर्दै एमालेले कार्यदल विघटन गरेको थियो। तर पार्टीमा विवाद कायम रहँदा विघटित कार्यदलका सदस्यहरूले पार्टी एकता कायम राख्ने प्रयास जारी राखेका छन्।