माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
9.3K
SHARES

१८ साउन काठमाडौं । सत्ता गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।

सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ। यसअघि आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने र एमालेमै फर्किने सम्भावना देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए।

माधव समूह सरकारमा सहभागी नहुने भएपछि मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा माओवादी लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल यसअघि नै सहभागी भैसकेका छन्। माओवादीको भागमा ७ वटा मन्त्रालय परेको छ। आइतबारको बैठकले केन्द्रीय कमिटी बैठक साउन ३० का लागि सार्ने निर्णय पनि गरेको थियो।