भारतले तत्काल क्षमायाचना गरोस् – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
2.8K
SHARES

२० साउन काठमाडौं । आज राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा तत्काल क्षमायाचना गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

“महाकाली नदीमा तुइन तर्दै गर्दा दर्चुलाका जयसिंह धार्मी भारतीय सीमा सुरक्षा बलले तार काटिदिएर अहिले पनि महाकालीमा बेपत्ता छन् । उनको परिवारले साल, पलास केही नभेटेपछि मृत्यु भएको भन्दै कुसको शव बनाएर दाहासंस्कार गरेको दुःखद अवस्था छ,” श्रेष्ठले भने, “म यो घोर मानवीय घटनाको भर्त्सना गर्दछु र भारत सरकारलाई यसका विषयमा क्षमायाचना गरी दोषीउपर कडा कारबाहीको माग गर्दछु ।”

उनले नेपाल सरकारले छानबिन समिति गठन गरेर परिपक्व कूटनीतिक समाधान गरे पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

“नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कूटनीतिबाट समस्या समाधान गर्ने खोजेको छ, यो उचित नै छ,” श्रेष्ठले भने, “तर, पीडित परिवारलाई क्षतिपूर्तिसहित भारतीय पक्षबाट क्षमायाचना गर्ने व्यवस्था मिलाओस् भन्ने आग्रह गर्दछु ।”