हामीले सांसद अपहरण गरेको छैन – मुख्यमन्त्री पोखरेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८
3.5K
SHARES

२१ साउन काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफूमाथि प्रतिपक्षी दलले लगाएको सांसद अपहरणको आरोपप्रति ‘असन्तुष्टि’ पोखेका छन्। प्रदेशसभामा सांसदको सङ्ख्या कम हुनुमा ‘जिम्मेवार’ रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेले त्यसबारे ‘इतिहासले उत्तर खोज्ने’ टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई जना माननीयलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननीयलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ। ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्‍यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ।’

लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा बन्दी बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो। यति मात्र नभई अर्को दुई तीन वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो।’ बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन्।

सांसद वलीको उक्त आरोपको खण्डन एमाले नेताहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन झूटो कुराको प्रचार गरिएको बताएका छन्।