अबको राष्ट्रपति बारेमा बाग्मतीका नेताहरुलाई अध्यक्ष ओलीले यस्तो भनेपछि


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
9.7K
SHARES

२३ साउन काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफूसँग रहेको सूचना भन्दै सुनाउनुभयो, ‘चोलेन्द्र, झलनाथ र रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाउने भनेका छन् रे !’

‘यत्रो राम्रो काम गरिरहेको राष्ट्रपतिलाई यसरी गालीगलौज गर्ने ?’ अर्थात्, वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई महाभियोग लगाएर हटाइन लागेको चर्चाका कारण उहाँ बढी चिन्तित देखिनुहुन्थ्यो । त्यसक्रममा केपीले माधव नेपालविरुद्ध यहाँ लेख्न नसकिने भाषा र शैली प्रयोग गरेर गाली गर्नुभयो । तर, ‘त्यसो नभन्नुस्’ भनेर कोही बोल्नै सकेनन् ।

घटना एक साताअघि ओली निवास बालकोटको हो । बागमती प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्नका लागि माधवपक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओलीपक्षका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौला पुगेका थिए । ओलीले भन्नुभयो, ‘प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने माधव नेपालहरु अपराधी हुन् ।’

उहाँले अष्टलक्ष्मीहरुको अनुहारतिर हेर्दै भन्नुभयो, ‘अदालत पनि प्रतिक्रियावादी रहेछ । अहिलेको निर्णय प्रतिगमन भयो । देश बर्बाद भयो ।’ उहाँको जिकिर थियो, ‘कम्युनिष्ट पार्टीले दुई तिहाई ल्याएर संविधान संशोधन गरेमात्रै हो । नत्र, अब सिद्धियो ।’ उक्त भेटमा ओलीले अष्टलक्ष्मीको खुब प्रशंसा गर्नुभयो । भन्नुभयो, ‘उहाँकै नेतृत्वका कारण प्रदेश सरकार बच्यो ! बजेट पनि पास भयो ।’ त्यहीं केपीले माधवलाई अनेकन नाम र विशेषण लगाएर गालीगलौज गर्नुभयो । तर, अष्टले खासै प्रतिवाद गर्नुभएन ।

अन्तिममा अरुण र राजेन्द्रले ‘माधवबिनाको एकता हुँदैन’ भन्नुभयो । ओलीले भन्नुभयो, ‘माधव नेपाल कांग्रेसलाई त्यत्रो मद्दत गरेर बसेको मान्छे, अब यहाँ के काम छ र ?’ केपीलाई त अष्टले जवाफ लाउनु भएन–भएन, उल्टै माधवपक्षीय स्थायी कमिटी बैठकमा उहाँले केपी धेरै फेरिएको, बोलीमा मिठास आएको भन्नुभयो । चियापानसहित ४ घण्टाको कुराकानी सकेर हिँड्ने बेलामा पनि ओलीले भन्नुभयो, ‘माधवजीको काम छैन । तपाईंहरु आउनुप¥यो ।’ त्यसको दुई दिनपछि ओलीले फेरि अष्टलाई बोलाएर दुई घण्टा भलाकुसारी गर्नुभयो ।जनआस्थाबाट