मलाई खबरदारी गर्नुहोस् – प्रधानमन्त्री देउवा
२३ साउन काठमाडौँ । आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनमा देखिएका कमजोरीबारे आफूलाई झक्झक्याउन पार्टीका युवा नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा कांग्रेसका केन्द्रीय सदस्य कमला पन्त, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, रामकृष्ण यादव, गुरुराज घिमिरे, जीवन परियार र गगन थापा सहभागी थिए ।
प्रधानमन्त्रीलाई बधाइ दिन बालुवाटार पुगेका उनीहरुसँगको भेटमा प्रधानमन्त्रीले सरकार सञ्चालनका क्रममा सधैँ आफूलाई खबरदारी गर्न पनि आह्वान गरेको छलफलमा सहभागी केन्द्रीय सदस्य कमला पन्तले बताइन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेत्री पन्तले भनिन् ‘म देश र जनताको निमित्त सकारात्मक काम गरेर देखाउने प्रयासमा छु, मेरो प्रयासमा सबैले साथ दिनुहोला । मलाई सहयोग गर्नुपर्छ ।’
प्रधानमन्त्री समक्ष युवा नेताले दार्चुला घटना तत्काल छानविन गर्न र आवश्यक परेको खण्डमा भारतीयसँग पनि सहयोग लिन आग्रह गर्दा प्रधानमन्त्री देउवाले छानविन टोली घटनास्थलमै पुगेकोले उनीहरु फर्केपछि थप आवश्यक छानविनको पहल फरक ढङ्गबाट हुने बताए ।
भारतीयसँग पनि आवश्यक परेको खण्डमा घटनाको विषयमा छलफल गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका थिए । भेटमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको बुझिएको छ । युवा नेतासँगको छलफलका क्रममा प्रधानमन्त्रीले आफूलाई असफल बनाउन पार्टीकै साथीहरु षड्यन्त्रपूर्वक लागिपरेको आरोप पनि लगाएका थिए । महाधिवेशन बारे उनले भदौ १६ मा महाधिवेशन सुरु हुन सम्भव नभए पनि सहमतिमै नयाँ कार्यतालिका ल्याउने बताएका थिए ।