सरकारको निशानामा डा. खतिवडा


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
4.5K
SHARES

२३ साउन काठमाडौ । अब अमेरिकाका राजदूत युवराज खतिवडालगायत राजदूतलाई पदमुक्त गर्ने तयारी भएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले बनाएका राजदूतहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता बोलाउने तयारी गरेका हुन् ।

एक स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले नेतृत्व पाएलगत्तै यो काम अघि बढाउने सरकारको तयारी छ । अमेरिकाका राजदूत युवराज खतिवडालाई पहिलो घानमै निशाना बनाइँदैछ ।

एमालेमा अलोकप्रिय भएपनि ओलीको प्रिय पात्र बनिरहन सफल खतिवडा ५ महिनाअघि राजदूतका रूपमा अमेरिका पुगेका थिए । माओवादी कोटाबाट राजदूत बनेका लीलामणि पौड्याललाई फिर्ता बोलाएर चीनको राजदूत बनाइएका महेन्द्रबहादुर पाण्डेको पनि बेइजिङबाट स्वदेश फर्किने दिन नजिकिन थालेको कांग्रेसका नेताहरुबीच चर्चा हुन थालेको छ ।

कुशल कार्यसम्पादन गर्दागर्दै ओलीको कोपभाजनमा परेको भन्दै त्यहाँ पुनः उनै पौड्याललाई राजदूत बनाएर पठाउन एकथरीले लबिङ थालेका छन् । पौड्याल स्वयं पनि माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री बनेपछि लाइन मिलाउन सक्रिय रहेको चर्चा छ ।

अहिले कांग्रेसको हेडक्वार्टर सानेपा र परराष्ट्र मन्त्रालयतिर चलेको चर्चाले आकार लिएमा लोकदर्शन रेग्मीको लन्डन बसाइँ पनि छिट्टै टुंगिने छ । आरजु राणा निकट भनेर चिनिएका रेग्मी तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर ४ महिनाअघि मात्रै राजदूतका रूपमा बेलायत पुगेका थिए ।

स्रोतका अनुसार, देउवा सरकारले फिर्ता बोलाउने तयारी गरेपछि उनले धूलोले भरिएको डायरी टक्टकाएर कांग्रेसी नेताहरूसँग हिमचिम बाक्लो बनाउन थालेको चर्चा छ । रेग्मीले आफूलाई थमौती गर्न प्रयास गरे पनि उनको चाहना पूरा हुने सम्भावना निकै कम रहेको बताइन्छ ।

इजरायलकी अञ्जान शाक्य, भारतका नीलाम्बर आचार्य, ओमनकी शर्मिला पराजुलीलगायत राजदूतलाई पनि देउवा नेतृत्वको सरकारले परिवर्तन गर्ने अनुमान गरिएको छ । आचार्य दिल्ली पुगेको लामै समय भए पनि अन्य राजदूत केही महिनाअघि मात्रै त्यता पुगेका हुन् ।

त्यसैगरी, केही कूटनीतिज्ञ आफ्नो जिम्मेवारी पूरा गरेर स्वदेश फर्किएका छन् । दी राइजिङ नेपालको सम्पादक रहेकै बेला माओवादीबाट डेनमार्कको राजदूत नियक्त भएका युवराज लम्साल केही दिनअघि मात्रै नेपाल ओर्लिएका छन् ।