पार्टी एकताको लागि आचार्यद्धारा ८ बुँदे अपिल
२७ साउन काठमाडौं। नेकपा एमाले सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको दाबी गरेका छन्। बुधवार बिहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले एमाले गम्भीर संकटबाट गुज्रिरहेको धारणा राखेका हुन्।
आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित-हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताए। उनले लाखौँ कार्यकर्ता नेकपा एमालेको एकताको पक्षका रहेको बताए। पार्टी बचोस् भन्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका बताउँदै आचार्यले उनीहरू नेतृत्वविहीन पनि भएको उल्लेख गरे।
आचार्यको ८ बुँदे अपिल यस्तो छ
(१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।
(२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।
(३) पक्ष २ वटा प्रवृत्ति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।
(४) दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरु र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।
(५) नेकपा एमालेका देश विदेशमा भयका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरू नेतृत्वविहीन पनि छन्।
(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रूपमा यसलाई लागु गर्नुपर्दछ।
(७) हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित-हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।
(८) टुट-फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश-विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछु।